नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको बारेमा यस डिजिटल प्लेटफर्म मार्फत जानकारी गराउन  पाउँदा हामीलाई धेरै खुशी लागेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमको वेबसाइट सम्पूर्ण साझेदार, सरोकारवाला र अन्य सम्बन्धित निकाएहरु ले क्षयरोग कार्यक्रम सम्बन्धी जानकारी पाउने एउटा उपयुक्त माध्यम हो। 

नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रुप रहि  आएकोछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१८/१९ मा क्षयरोग प्रिभेलेन्स सर्वेक्षण गरेको थियो र उक्त अध्ययनमा नेपालमा नयाँ र पुराना क्षयरोग बिरामीको संख्या अनुमानित ११७,००० (४१६/१००,०००) जनसङ्ख्यामा रहेको र ६९,००० (२४५/१००,०००) क्षयरोगका बिरामी वार्षिक रूपमा थपिने गरेको प्रक्षेपण गरेको छ, जुन बिश्व स्वास्थ्य संगठन द्वारा अघिल्लो अनुमान भन्दा १.८ र १.६ गुणा बढी हो  । त्यसैगरी क्षयरोगको अनुमानित मृत्युदर प्रति वर्ष १७,००० गरिएको छ , जुन अघिल्लो अनुमान (५,५००) भन्दा ३.१ गुणा बढी हो  । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा  क्षयरोग अन्त्य गर्ने लक्ष्यहरू प्राप्त गर्न औषधि प्रतिरोध क्षयरोग  चुनौतीको रूपमा देखा परिरहेकोछ। यस सर्वेक्षणले औषधि प्रतिरोध क्षयरोगको नयाँ बिरामी  (वार्षिक २,२००) को पनि अनुमान गरेकोछ, जुन पहिले अनुमान गरिएको भन्दा १.५७ गुणा बढीछ ।

आर्थिक वर्ष २०२०/२१ मा लगभग २८,००० क्षयरोग (DSTB) का बिरामीहरु राष्ट्रिय क्षयरोग कार्यक्रमको उपचार प्रणालीमा दर्ता भएका थिए, जुन अनुमानित (६९,०००) क्षयरोग प्रभावित व्यक्तिको संख्याको ४१% मात्र हो। नेपालमा नयाँ क्षयरोगका बिरामी हुने दर भौगोलिक क्षेत्रअनुसार फरकछ । त्यसैगरि सन् २०२०/२१ मा औषधि प्रतिरोधी  क्षयरोगका  २३% (अनुमानित २,२०० मध्ये ५०९)बिरामी मात्र उपचारको दायरामा आएका थिए यो संख्या रोग निदान भएका मध्ये ६०% मात्रहो अर्थात् मतलब रोग पहिचान भएका मध्ये अझै ४०% बिरामी उपचारको दायरामा ल्याउन सकिएको अवस्था छैन ।

राष्ट्रिय क्षयरोग कार्यक्रमले सबै तहमा क्षयरोग कार्यक्रमको लागि जवाफदेहिता, प्राथमिकता, संलग्नता र लगानीमा सुधार, क्षयरोगको क्षेत्रमा कार्यरत व्यक्तिहरुको क्षमता अभिवृद्धि, क्षयरोग निदान र उपचारमा सामुदायिक तथा निजी क्षेत्रको अर्थपूर्ण सहभागितालाई सुदृढ गर्ने, रोग निदान तथा उपचारमा नयाँ प्रविधिको विस्तार जस्ता धेरै चुनौतीहरुको सामना गरेको छ । COVID-19 महामारीको समयमा पनि क्षयरोग निदानका लागि खकार सङ्कलन र ढुवानीको अधिकतम उपयोग, क्षयरोग निदानका लागि प्रयोगशालाहरूको विस्तार गर्ने र यसको उपयुक्त व्यवस्थापन, सार्वजनिक र निजी क्षेत्रहरूमा विधुतीय माध्यम बाट  प्रत्येक बिरामीको निगरानी प्रणालीको संस्थागत विस्तार र सशक्त सुपरिवेक्षण प्रणाली स्थापना, लगानी वृद्धि र सबै तहमा क्षयरोग संक्रमण नियन्त्रण उपायहरूको प्रभावकारी कार्यान्वयन, बहुक्षेत्रीय अवधारणा मार्फत क्षयरोग कार्यक्रम लागू गर्ने, सबै बिरामीलाई भर्ना गर्ने, बिरामीहरूको उपचार र व्यवस्थापनमा सक्रिय भूमिका रहेको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रमले उच्च राजनीतिक नेतृत्वमा क्षयरोग निवारणका  समितिहरू स्थापना गरी, सबै तहमा क्षयरोगका लागि पर्याप्त स्रोतहरू उपलब्ध गराएर, क्षयरोग मुक्त अभियान कार्यान्वयन गर्ने, क्षयरोग भएका सबै ब्यक्तिहरूको गुणस्तरीय हेरचाहमा पहुँचको सुनिश्चितता गरी राजनीतिक प्रतिबद्धता, दिगो स्रोत र बहुक्षेत्रीय संलग्नतालाई जोड गर्नेछ। क्षयरोग कार्यक्रममा युनिभर्सल हेल्थ कभरेज प्याकेज अन्तर्गत क्षयरोगलाई अनिवार्य रूपमा सुचनायोग्य बनाउने र क्षयरोग रोकथाम उपचारलाई मापन गर्नुपर्ने, मानव अधिकार, बिरामी सेवा र सहयोग, कलंक र विभेद  विरुद्ध उभिन समुदायलाई संलग्न गर्नुपर्ने, सबै क्षयरोगी र परिवारका सदस्यहरूलाई स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र गरिबी निवारण योजनाहरूमा समेट्नु पर्दछ ।

क्षयरोगलाई आधारभूत स्वास्थ्य सेवा प्याकेजमा समावेश गरि, औषधि प्रतिरोध क्षयरोगको बिरामीहरू लाई  राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा ​​समेटने, डिजिटलाइज्ड केसमा आधारित निगरानी , ​​४३ जिल्लामा विश्व स्वास्थ्य संगठन द्वारा सिफारिस गरिएको mWRD प्रविधिको विस्तार , GENETUP र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा कल्चर/DST प्रयोगशालाहरू स्थापना गरी नेपालले धेरै उपलब्धिहरू हासिल गरेकोछ । क्षयरोग निदान केन्द्रहरूसँग जोडिएको खकार ढुवानी र आवश्यकतामा आधारित प्रेषण प्रणाली, इन्डेक्स क्षयरोगका बिरामीको नजिकको सम्पर्कमा आएका ५ वर्ष मुनिका बालबालिकाका लागि क्षयरोग रोकथाम उपचार पद्धति, अस्पतालमा सेवाग्राहीहरू बीच क्षयरोग निदान बढाउन र क्षयरोगको सङ्क्रमण रोक्न FAST कार्यक्रम लागु गरिएको छ  साथै  क्षयरोग पत्ता लगाउने दर बढाउन नेपाल बाल चिकित्सक संघ, व्यावसायिक बिज्ञ र अन्य सरोकारवालाहरूसँग साझेदारी गरेको छ l

यसका साथै, क्षयरोगीहरूमा एचआईभी परीक्षण दर बढेको छ, प्रादेशिक स्तरमा क्षयरोग उपचार र प्रेषण व्यवस्थापन केन्द्रहरूको स्थापना र सञ्चालनको लागि निर्देशिका निर्माण गरिएकोछ र औषधि संबेदनशिल क्षयरोगमा ९०% र औषधि प्रतिरोध क्षयरोग बिरामीमा ७०% सफल उपचार दर प्राप्त गरेकोछ ।

हामी क्षयरोग अन्त्यका लागि अघि बढिरहेका छौं, यस सन्दर्भमा म सरकार, साझेदारहरू, गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र अन्य सरोकारवालाहरूलाई क्षयरोग अन्त्य गर्न एकजुट हुन अनुरोध गर्दछु।

यस वेबसाइटलाई सबैको लागि लाभदायक बनाउनको लागि अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न म तपाईहरू लगायत सम्बन्धित सबैलाई आब्हान गर्दछु र प्राप्त सुझाबहरुलाई हार्दिक स्वागत समेत गर्दछु।